अहमदाबाद विमान दुर्घटनामा बाँच्न सफल रमेशको बयान: ‘प्लेनबाट हामफालेको होइन, सिटसहित बाहिर झरेँ’


काठमाडाैं- गुजरातको अहमदाबादमा भएको एक भयावह विमान दुर्घटनाले केवल भारत मात्र होइन, विदेशका नागरिकहरूलाई समेत स्तब्ध पारेको छ। उच्च गतिमा टेकअफ गर्ने क्रममा विमान सिधै एक अस्पतालको होस्टल भवनमा ठोक्किएको थियो। विस्फोट, आगलागी, धुवाँ र चिच्याहटले भरिएको उक्त दुर्घटनामा २६५ जनाको ज्यान गएको पुष्टि भएको छ। तर यही दुर्घटनाबाट चमत्कारिक रूपमा बाँच्न सफल भएका यात्रु रमेश विश्वास कुमारको अनुभवले सबैलाई अचम्ममा पारेको छ।

दुर्घटनापछि अस्पतालको शय्यामा रहेका विश्वासले भारतीय समाचार च्यानललाई आफ्नो अनुभव सुनाउँदै भने, “प्लेनले रनवेमा गति लिन थालेपछि केही असामान्य लाग्यो। ५–१० सेकेन्डको लागि सबै कुरा स्थिर जस्तो भयो। त्यसपछि एक्कासि हरियो र सेतो बत्ती बल्यो। प्लेनले पूर्ण वेग लिएको महसुस भयो र त्यसपछि सिधै भवनमा ठोक्कियो।”

‘म जुन साइडमा थिएँ, त्यही भाग तल पर्‍यो’

रमेशका अनुसार, प्लेनको जुन भागमा उनी थिए, त्यो भाग होस्टल भवनको तल्लो भागसँग ठोक्किएको थियो। “सिटसहित म तल झरेको हुनुपर्छ,” उनले भने, “म कसरी बाँचें, मलाई आफैंलाई थाहा छैन। अगाडि केही खाली ठाउँ देखेपछि त्यतातिर भाग्ने कोसिस गरें। अर्को साइडमा पर्खाल थियो, त्यहाँबाट सायद कोही निस्कन सकेनन्।”

उनले भने, “मेरो आँखाअगाडि दुई एयर होस्टेस, एक दम्पती र अरू यात्रुहरू जलेका थिए। मेरो बायाँ हात गम्भीर रूपमा जलेको छ, तर म बाँचें। केही सेकेन्ड ढिला भएको भए, म पनि सकिन्थेँ।”

दुई दाजुभाइ सँगै यात्रा, अर्का दाजु अजयको अवस्था अज्ञात

रमेशको परिवार बेलायतको लेस्टरमा बसोबास गर्छ। रमेश र उनका दाजु अजय सँगै विमानमा यात्रा गरिरहेका थिए। रमेशको बाँचेको खबरपछि परिवारले राहत महसुस गरे पनि अजयको अवस्था अझै अज्ञात छ। अर्का भाइ नयन विश्वासले भारतीय मिडियालाई भने, “हामी रमेशसँग सम्पर्कमा छौं। उनी अहिले अस्पतालमा उपचाररत छन्। तर अजयको बारेमा केही जानकारी छैन।”

परिवारका सबै सदस्य अहिले ठूलो तनावमा छन्। रमेशकी श्रीमती, बाबु–आमा र छिमेकीहरू यो घटनाबाट गहिरो शाेकमा छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अस्पताल पुगेर रमेश विश्वाससँग भेटघाट गरेका छन् र उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। घटनाको छानबिन जारी रहेको बताइएको छ। -आजतक

प्रतिक्रिया