२४ जिल्लामा बाढीको सम्भावना, ७ जिल्लामा मध्यम जोखिम


काठमाडौं – देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा सक्रिय वर्षा प्रणालीका कारण केही स्थानमा भारी वर्षा भएको छ। पछिल्लो १२ घण्टामा डडेल्धुराको गाइबाँधे क्षेत्रमा ६७ मिलिमिटरभन्दा बढी पानी परेको छ।

गण्डकी प्रदेशका लमजुङ, कास्की, बागलुङ, लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिमको तराई क्षेत्रमा समेत वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले सक्रिय प्रणाली पूर्वतर्फ सर्दै गएको महाशाखाले जनाएको छ। आज काठमाडौ उपत्यकासहित आसपासका क्षेत्रमा समेत पानी पर्ने सम्भावना छ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख र जाजरकोट जिल्लाका खोलानाला तथा नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। ललितपुरसहित २४ जिल्लामा बाढीको सम्भावना रहेकोमा सात जिल्लामा मध्यम जोखिम रहेको उल्लेख गरिएको छ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली तथा पूर्वी–पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलस्तर सतर्कता सीमाभन्दा तलै रहने भए पनि उतार–चढाव भइरहने देखिएकाले नदी किनार क्षेत्रका गतिविधिमा सतर्कता अपनाउन सुझाव दिइएको छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार, हाल कोशी प्रदेशमा कमजोर देखिएको मनसुन प्रणाली आज राति वा भोलिदेखि सक्रिय भएर पश्चिमतर्फ सर्ने र आइतवारपछि मध्यम तथा पश्चिम क्षेत्रमा सक्रिय हुने सम्भावना छ।

प्रतिक्रिया