‘तँ’ भनेको भन्दै प्रहरीका सईले महिला कुटे [भिडियो]


कैलाली- जिल्लाको सत्ती प्रहरी चौकीका ईञ्चार्ज यज्ञराज पन्तले प्रहरीलाई ‘तँ’ भनेको भन्दै एक महिलालाई कुटपिट गरेका छन । उनले टीकापुर नगरपालिकाकी राजकुमारी कुँवर शाहलाई शुक्रवार अपरान्ह साढे चार बजेतिर कुटपिट गरेका हुन । उनले ती महिलालाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।

घटनाक्रम अनुसार महिला स्कुटी चलाएर धनगढीबाट हुलाकी मार्ग हुँदै टीकापुर आईरहेकी थिइन् । उनी टीकापुर नगरपालिका वडा नम्बर ७ प्रहरी बिट नजिकै रोकिईन । उनीसँग १७ वर्षका प्रेमजंग शाह समेत थिए ।

महिलाका अनुसार उनी पानी किन्न गइन् । नजिकै रहेका प्रहरी हवल्दार सुरेन्द्र बोहराले स्कुटी नजिकै रहेका शाहसँग लाईसेन्स र ब्लुबुक मागे । ती महिलाले लाईसेन्स र ब्लुबुक आफूसँग रहेको बताईन । यही क्रममा प्रहरी हवल्दार बोहरा र ती महिलाबीच भनाभन भयो । महिलाले प्रहरी हवल्दारलाई ‘तँ’ भनेर सम्बोधन गरिन् ।

उनीहरुबीच विवाद भएपछि नजिकै रहेका सई पन्त आए । उनी प्रहरीको बर्दीमा थिएनन् । महिलाका अनुसार सई पन्तले आउने बित्तिकै हातपात गरे ।

घटनाका बारेमा ईलाका प्रहरी कार्यालय टीकापुरमा जानकारी पुग्यो । उनीहरु दुवै पक्षले राति १२ बजेसम्म छलफल गरे । प्रहरीले हातपात गर्नु गल्ती भएको स्विकारे पनि महिलाले कारवाही हुनुपर्ने माग राखिन् ।

कैलाली प्रहरी प्रमुख एसपी बालनरसिँह राणाले घटनाका बारेमा बुझ्न सई पन्त र हवल्दार बोहरालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाएका छन् । एसपी राणाले महिला माथि धरपकड भएको भिडियो हेर्दा प्रहरीले गल्ती गरेको महशुस भएको बताए । उनले महिला माथि हातपात गर्ने प्रहरीलाई विभागीय कारवाही हुने बताए ।

‘महिलाले पनि प्रहरीलाई गालीबेईज्जती गरेको भन्ने छ’ एसपी राणाले भने–‘घटनाक्रम के हो ? भनेर बुझ्न मैले सई र हवल्दारलाई बोलाएको छुँ । भिडियो हेर्दा प्रहरीले गल्ती गरेको देखिन्छ ।’

प्रहरीले भने महिलाले गालीबेईज्जती गरेका कारण बल प्रयोग गर्नु परेको बताएको छ । एसपी राणाले प्रहरीले गल्ती गरेको भन्दै आफूले टेलिफोन गर्दा ती महिला अस्वभाविक ढंगले बोलेको बताए ।

 

 

प्रतिक्रिया