तारकेश्वरमा ब्रेक फेल भएर माइक्रो खस्यो, मन्दिर जाँदै गरेका ८ जना घाइते


काठमाडौं-— भक्तजन बोकेको एक माइक्रोबस शुक्रबार दिउँसो काठमाडौँको तारकेश्वर नगरपालिका–३, तिनपिप्ले स्थित भुवनेश्वरी मन्दिर नजिक दुर्घटनामा पर्‍यो। काभ्रे बनेपाबाट आएका यात्रुहरू लिएर मन्दिर गइरहेको बा १ ज ८६८५ नम्बरको माइक्रो अचानक ब्रेक फेल भएर सडकबाट झन्डै १० मिटर तल खसेको हो।

दुर्घटनामा ८ जना यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरू सबै काभ्रे, बनेपा नगरपालिका–१० का बासिन्दा हुन्। उनीहरूलाई तत्काल उद्धार गरेर मेगा ग्रिनसिटी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार सबैको अवस्था बोल्न सक्ने र चोटहरू सामान्य प्रकृतिका छन्।

घटनाबारे बालाजु प्रहरी वृत्तका वरिष्ठ नायब उपरीक्षक विजयकुमार शाहीले अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार ब्रेक फेल भएर माइक्रो अनियन्त्रित भएको पुष्टि भएको छ।

स्थानीयहरूका अनुसार सडक साँघुरो र उकालो भएकोले ब्रेक फेल हुँदा गाडी नियन्त्रण बाहिर गएको हो।

प्रतिक्रिया