


जयगढ आगलागी: अध्यक्ष हारेका साउँदको ५० हजार, जितेकाको कता छ नजर ?

अछाम- जयगढमा गएको चैत्र अन्तिमतिर भएको आगलागीबाट विस्थापित भएकाहरुको पुनःस्थापना तथा राहतमा सहयोग जुटाउने क्रम जारी छ। यस विषम परिस्थितिमा पूर्व उपाध्यक्ष तथा नेकपा (एमाले) का तर्फबाट विगतको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लोकबहादुर साउँदले व्यक्तिगत रूपमा रु ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
चुनावमा पराजित भए पनि साउँदले देखाएको मानवीय संवेदनशीलता र परोपकारी भावनाको सर्वत्र प्रशंसा हुन थालेको छ।
सामाजिक सञ्जालदेखि गाउँघरका चौतारीसम्म लोकबहादुरको खुलेर प्रशंसा भइरहेको छ। आगलागी पीडितका लागि व्यक्तिगत रूपमा सबैभन्दा बढी रकम सहयोग गर्ने उनी हालसम्मकै पहिलो व्यक्ति बनेका छन्।
साउँदको यो सहयोगसँगै धेरैको नजर हालका गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र पूर्व अध्यक्ष राजेन्द्र बहादुर खड्कातर्फ समेत तानिएको छ।
सत्तामा रहेका र आर्थिक हैसियत बलियो मानिने नेताहरूले अहिलेसम्म व्यक्तिगत रूपमा कुनै सहयोग नगरेको भन्दै चियोचर्चा सुरु भएको छ।
विशेष गरी गाउँपालिकाबाट पाउने सरकारी राहतबाहेक, व्यक्तिगत स्तरमा पनि केही न केही साथ र सहानुभूति पाइन्छ कि भन्ने अपेक्षामा रहेका पीडितहरू हालको नेतृत्वप्रति निराश देखिएका छन्।
“कम्तिमा एक–दुई महिनाको पारिश्रमिक सहयोग गर्छन् कि भन्ने आश थियो,” एक पीडितले भने, “तर अहिलेसम्म कुनै सकारात्मक संकेत आएको छैन।”
अर्कोतर्फ पूर्व गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काबाट पनि कुनै व्यक्तिगत सहयोग नआएकोले जनस्तरमा उनको भूमिकाप्रति प्रश्न उठ्न थालेको छ।
गाउँपालिकाका ठूला व्यापारीसमेत मानिने खड्काले पीडितप्रति नजर नपर्नु दुखद बिषय हो ।
आगलागीको घटनापछि जयगढमा लामो समय रहँदा समेत उनले कुनै व्यक्तिगत सहयोग तथा सहानुभुति समेत नपाएपछि उनीप्रति स्थानीय असन्तुष्ट देखिन्छन् ।
लोकबहादुर साउँदको ५० हजार सहयोगपछि सामाजिक सञ्जालमा बहालवाला अध्यक्ष, उपाध्यक्ष अन्य जनप्रतिनिधि र पूर्व जनप्रतिनिधिको भूमिका र नैतिक जिम्मेवारीमाथि बहस सुरु भएको छ।
गएको चैत्र २६ गते राति लागेको आगोले जयगढ बजारका २५ घर र ती घरभित्र सञ्चालनमा रहेका ३५ वटा व्यवसायहरू जलेर नष्ट भएका थिए।
आगलागीबाट करिब ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

