
ट्रम्प र एलन मस्कबीच विवाद चर्कियो, टेस्लाको शेयर १४ प्रतिशतले घट्यो
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति उद्यमी एलन मस्कबीच सार्वजनिक विवाद चुलिएको छ, जसले विश्व बजारमा समेत प्रभाव पारेको छ।
ट्रम्पले मस्कका कम्पनीहरूसँगको सरकारी सम्बन्ध र अनुदान रोक्ने धम्की दिएपछि मस्कले ट्रम्पमाथि महाअभियोग लगाउनुपर्ने प्रतिक्रिया दिएका छन्। मस्कले ट्रम्पको खर्च विधेयकलाई गैरजिम्मेवार र दीर्घकालीन आर्थिक स्थायित्वविरूद्ध भएको आरोप लगाउँदै आलोचना गरेका छन्। ट्रम्पले मस्कलाई ‘ट्रम्प डेरेन्जमेन्ट सिन्ड्रोम’ भएको टिप्पणी गरेका छन् भने, मस्कले ट्रम्पमाथि चुनावमा विश्वासघात गरेको आरोप लगाएका छन्।
यसैबीच, ट्रम्पले ओभल अफिसमा मस्कसँग आफू अत्यन्त निराश भएको र उनलाई धेरै सहयोग गरेको बताएका छन्। ट्रम्पले मस्कका कम्पनीहरूसँगका सरकारी ठेक्काहरू पुनरावलोकन गर्ने चेतावनी समेत दिएका छन्। विवादका कारण टेस्लाको शेयर मूल्य १४ प्रतिशतले घटेको छ र कम्पनीको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा तल झरेको छ। मस्कले आफ्नो स्पेस एक्स कम्पनीको ड्रागन अन्तरीक्ष यान कार्यक्रम बन्द गर्ने घोषणा पनि गरेका छन्।
ट्रम्प र मस्कबीचको विवादले एसियाली सेयर बजारमा पनि असर पारेको छ। हङकङ बजार खुल्दा चीनका प्रमुख विद्युतीय सवारी कम्पनीहरू जस्तै BYD, नियो र ली अटोका सेयरमा गिरावट आएको छ। ह्याङसेङ सूचकांकमा समेत गिरावट देखिएको छ। यद्यपि, ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्तापछि एसियाली बजारमा सानो सुधारको सम्भावना देखिएको छ।
यो विवाद दुई पक्षबीचको लामो समयदेखि चलेको मतभेदको सार्वजनिक रूप हो, जसले अन्तर्राष्ट्रिय आर्थिक तथा राजनीतिक क्षेत्रहरूमा चिन्ता पैदा गरेको छ।



कागजपत्र |
