


तुलसी बहुमुखी सहकारीका अध्यक्ष शर्मालाई ६ वर्ष कैद, ६७ करोड बढी रकम फिर्ता गर्न आदेश

विराटनगर- मोरङ जिल्ला अदालतले तुलसी बहुमुखी सहकारी संस्थाको करोडौँ रकम अपचलन गरेको ठहर गर्दै अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद सजाय सुनाएको छ। अदालतले सहकारीका सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई पनि दोषी ठहर गर्दै २ वर्ष २ महिना कैद सजाय सुनाएको हो।
जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले आइतबार दोषी ठहर गरेको र बिहीबार सजाय निर्धारण गरेको हो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अध्यक्ष शर्मालाई ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ फिर्ता गर्न आदेश दिइएको छ। साथै, शर्माले पीडित राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ जम्मा गर्नुपर्नेछ।
प्रबन्धक खवासलाई २७ लाख बिगोको क्षतिपूर्ति तथा सोही बराबर जरिवाना तिराउने फैसला भएको छ। उनले पीडित राहत कोषमा १ लाख ८ हजार रुपैयाँ पनि बुझाउनु पर्नेछ। सचिव न्यौपानेलाई भने कैद सजाय बाहेक कुनै बिगो वा जरिवाना तोकिएको छैन। तर, उनले पीडित राहत कोषमा ६०० रुपैयाँ मात्र तिर्नुपर्ने छ।
२०७९ साल चैत १२ गते अध्यक्ष शर्मासहित ८ जनाविरुद्ध ‘सहकारी रकम हिनामिना’ आरोपमा मुद्दा दायर गरिएको थियो। अदालतले उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईलाई सफाइ दिएको छ भने फरार रहेका छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा हालका लागि मुल्तबीमा राखिएको छ।
सहकारीको मुख्य कार्यालय विराटनगरमा रहेको छ। यसले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजार शाखामार्फत २१ हजार १५४ जना बचतकर्ताबाट १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ बचत संकलन गरी अपचलन गरेको अभियोग लागेको थियो।

