सप्तकोशी नदीमा उद्धार अभ्यासको क्रममा दुई प्रहरी डुबेर हराए


धरान- सप्तकोशी नदीमा डुबेर दुई जना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा सुरज साउद र हरदेव राजवंशी रहेका छन्।

सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयले आज बाढीपहिरोबाट प्रभावित व्यक्तिहरूलाई उद्धार गर्ने अभ्यास गर्दै थियो। गोताखोर सहितको टोलीले नदीमा उद्धार अभ्यास गर्ने क्रममा यी दुई जना डुबेर बेपत्ता भएका हुन्।

मधेश प्रदेश कार्यालय बर्दिबासबाट सुनसरी र सप्तरीको बीचमा पर्ने सप्तकोशी नदीमा विपद् उद्धार अभ्यास भइरहेको थियो। सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार, बेपत्ता भएका प्रहरी जवानलाई उद्धार गर्न सुनसरी र सप्तरीका प्रहरी टोलीहरू परिचालन गरिएका छन्।

वर्षात्को समयमा बाढीपहिरोबाट फसेकाहरूलाई उद्धार गर्न आयोजना गरिएको अभ्यासका क्रममा यो घटना भएको हो। घटनास्थलमा सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसहितको टोली पनि पुगेर उद्धार कार्यमा लागिरहेको छ।

प्रतिक्रिया