


अलपत्र ५७ आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

काठमाडौं – स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका देशभरका ५७ वटा आधारभूत अस्पताललाई आगामी साउनदेखि सेवा सञ्चालनमा ल्याउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थालेको छ।
निर्माण सम्पन्न भएर पनि वर्षौंदेखि बन्द अवस्थामा रहेका तथा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेका आधारभूत अस्पताललाई सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी तीव्र बनाएको हो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा अस्पताल सञ्चालनका लागि जनशक्ति, उपकरण, औषधि, रिएजेन्ट लगायतका आवश्यक स्रोत व्यवस्थापनको कार्ययोजना बनाइँदैछ।
मन्त्रालयले “आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२” तयार गरिसकेको छ। साथै, मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
उक्त कार्यदलले अस्पताल सञ्चालनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट पार्न र आवश्यक सहयोग र समन्वयका उपायहरू पहिचान गर्न योगदान गर्नेछ।
आगामी आर्थिक वर्षका लागि मन्त्रालयले यी अस्पतालको सञ्चालन तथा पूर्वाधार व्यवस्थापनमा झण्डै एक अर्ब रुपैयाँ बजेट छुट्याएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

