


सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडाैं- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ सोडारीविरुद्व भ्रष्टाचार मुद्वा दायर भएको छ । एकीकृत समाजवादी सुदूरपश्चिमका संसदीय दलका नेतासमेत रहेका सोडारीविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । सोडारीउपर एक करोड ८ लाख ३८ हजार ३०२ बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ ।
‘सोडारीले पदीय मर्यादाविपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सोडारीले सार्वजनिक पदधारण गरेको २०७४ माघ ७ गतेदेखि मिति ०७९ फागुन १० गतेसम्मको जाँच अवधिमा निजसमेतको खुद बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक बचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत, बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको,’ अख्तियारले भनेको छ ।
सोही जाँच अवधिमा व्ययतर्फ जग्गा खरिदमा भएको खर्च, घर निर्माण एवं सोही घरमा आन्तरिक सजावट खर्च, छोरीको अध्ययन खर्च, श्रीमती संचालक रहेको बबि मसला उद्योगमा भएको लगानी, बीमा प्रिमियम भुक्तानी, प्रदेशसभा निर्वाचनमा भएको खर्च, छोराको विवाह खर्च, शेयर लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेत गरी एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ । एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ कुल आयभन्दा कुल व्यय अधिक देखिएकोले सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ ।
सोडारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी छ । सोडारीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख समेतको प्रचलित कानुनबमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निजहरूलाई प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडाैंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले भनेको छ ।
सोडारी कैलालीबाट लगातार दुईपटक प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । अघिल्लो कार्यकालमा उनी सामाजिक विकासमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा उनी मुख्यमन्त्री भएका थिए ।

