


भारतमा एकै परिवारका ७ जना कारभित्र मृत भेटिए

काठमाडाैं- भारतको हरियाणा राज्य अन्तर्गत पंचकुलामा सोमबार राति एक कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन्। मृत फेला पर्नेमा पति–पत्नी, तीन बालबालिका र वृद्धसहितका परिवार सदस्यहरू रहेका छन्।
पुलिसका अनुसार मृतकमध्ये दुई जनाको पहिचान प्रवीन मित्तल र उनका पिता देशराज मित्तलको रूपमा गरिएको छ। घटनापछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ।
उक्त परिवार उत्तराखण्ड राज्यको देहरादूनस्थित कौलागढ क्षेत्रका बासिन्दा थिए। उनीहरूले कौलागढमा तीन वर्षसम्म भाडामा बसेर त्यसपछि नींबुवाला क्षेत्रमा बस्दै आएका थिए। छिमेकी राजकुमारी नौटियालका अनुसार प्रवीन मित्तलको परिवारले एउटा गैरसरकारी संस्था (एनजीओ) पनि सञ्चालन गर्दै आएको थियो।
घटना सोमबार राति करिब ११ बजे सार्वजनिक भएको हो, जब ‘डायल ११२’ मा घर नम्बर १२०४ अगाडि पार्क गरिएको कारभित्र केही व्यक्तिले आत्महत्या गरेको जानकारी आयो। प्रहरी टोली घटनास्थल पुगेपछि कारमा सवार छ जनालाई सेक्टर–२६ स्थित एक निजी अस्पताल पुर्याइएको थियो भने कारबाहिर तडपिरहेको अवस्थामा भेटिएका एक जनालाई सेक्टर–६ को नागरिक अस्पताल लगिएको थियो।
ज्यान गुमाउनेहरू सबै प्रवीन मित्तलको परिवारका सदस्य भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थलमा डीसीपी हिमाद्रि कौशिकसहितका उच्च प्रहरी अधिकृतहरू पुगेका थिए।
प्रहरी स्रोतका अनुसार प्रवीन मित्तलले केही समयअघि देहरादूनमा टुर एन्ड ट्राभल व्यवसाय सुरु गरेका थिए। तर व्यापार असफल भएपछि उनीहरू ठूलो आर्थिक संकटमा परेका थिए। भारी ऋणमा डुबेको परिवार दैनिक गुजारासमेत गर्न असमर्थ बन्दै गएको बताइएको छ।
यो दर्दनाक घटनापछि स्थानीय क्षेत्र शोकमा डुबेको छ। प्रहरीको प्रारम्भिक अनुमान आत्महत्या भए पनि विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

