


पूर्वी नवलपुरको मध्यविन्दुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु, १ घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका- ७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।
मगलबार बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व_ का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ । दुर्घटनामा बर्दघाट नगरपालिका-५ का २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन्।
दुर्घटनामा सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो। दुवैलाई चिकित्सकले मृत घोषित गरे। गम्भीर घाइते मनिषलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ।
टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ।

