


मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

मकवानपुर – जिल्लाको थाहा नगरपालिका वडा नम्बर ३ त्रिभुवन राजपथ सडकखण्डमा ब्रेक फेल भई यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको दुर्घटनामा चार जना घाइते समेत भएका छन् ।
गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसले सडकमा हिँडिरहेका पैदलयात्रुहरूलाई ठक्कर दिएको थियो । बस थाहा नगरपालिकाका उप–मेयर भरत गोपालीको घरभित्र पसेको थियो ।
दुर्घटनामा परेर थाहा नगरपालिका वडा नम्बर ९ का लेखापढी व्यवसायी ४० वर्षीय कृष्ण बलामी र सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय लोकेन्द्र कुमार ठाकुरको उपचारको क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठाकुर झम्केश्वरी माविमा शिक्षकको रूपमा कार्यरत थिए ।
त्यस्तै झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादव (अन्दाजी ३५ वर्ष) र शिखरकोट मालपोत कार्यालयमा कार्यरत कमलेश कुमार साह दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का छेयाङ दोर्जे लामा (३२ वर्ष) र बारा कोल्बी नगरपालिका वडा नम्बर १ का रामगुलाम चौधरी (३० वर्ष) सामान्य घाइते भएका छन्। उनीहरूको उपचार पालुङको प्राथमिक स्वास्थ्य केन्द्रमै भइरहेको छ ।
बस दुर्घटनापछि चालक थाहा नगरपालिका–५ निवासी २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

