


कोठामा मृत भेटिएकी रोशनीको ‘सुसाइड नोट’मा के लेखिएको छ ?

काठमाडौं- आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका–३ स्थित आफ्नो कोठामा मृत फेला परेकी रोशनी शाहीको सुसाइड नोटमा छोरालाई सम्बोधन गरिएको पाइएको छ। प्रहरीले घटनास्थलमा दुई पृष्ठ लामो सुसाइड नोट नोट फेला पारेको थियाे। जसको परीक्षण प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी ढुण्डिराज नेउपानेले जानकारी दिए।
५४ वर्षीया शाही बालकोटको वृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको घरको पहिलो तलामा मृत अवस्थामा फेला परेकी हुन्। शवसँगै भेटिएको सुसाइड नोटमा उनले आफ्नो एकमात्र छोराप्रति माया प्रकट गर्दै गहिरो पीडा पोखेकी छन्।
नोटमा लेखिएको छ, “छोरा, मैले तिम्रो भविष्यको लागि केही गर्न सकिनँ, जीवनदेखि हार खाएँ। तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु भनेर सोचेको थिएँ। खुशी भएर बाँच्नु।” साथै उनले बाँकेको कोहलपुरमा रहेको १७ कट्ठा जग्गा सम्पत्तिको विषयमा पनि उल्लेख गरेकी छन्।
शाहीकी पति चित्रजंग शाही घटनाको समयमा विराटनगरमा एक गैरसरकारी संस्थाको काममा थिए। शारीरिक र मानसिक समस्यासँग संघर्ष गरिरहेकी रोशनी डिप्रेशनको औषधी सेवन गर्दै आएकी थिइन्।
डिएसपी ढुण्डिराज नेउपानेका अनुसार, जनप्रतिनिधिको रोहबरमा ढोका फुटाएर हेर्दा उनी मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानअनुसार ओभरडोज औषधि सेवनका कारण मृत्यु भएको आशंका गरिएको छ।
शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।

