प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी काँग्रेसले लिँदैन : कांग्रेस


काठमाडौं– सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सबै अभिव्यक्तिको जिम्मेवारी काँग्रेसले नलिने स्पष्ट पारेको छ।

सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओली नेकपा (एमाले) का नेता समेत भएकाले उनका सबै भनाइ काँग्रेसको हैन भन्ने प्रस्ट पारे।

“प्रधानमन्त्री ओली एमाले अध्यक्ष पनि हुनुहुन्छ,” प्रवक्ता महतले भने, “उहाँले भनेका सबै कुराको जिम्मेवारी हामीले लिनुपर्ने होइन। हामीलाई सत्ता कब्जा वा शक्तिको विषयमा चासो छैन, हाम्रो प्राथमिकता संविधानको रक्षा हो।”

उनले संविधानले प्रदान गरेका अधिकार प्रयोग गरेर शान्तिपूर्ण ढंगले असहमति राख्न पाइने बताए। तर, संविधानको विरुद्धमा जाने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।

राजावादीहरूले जेठ १५ गतेका लागि घोषणा गरेको आन्दोलनप्रति संकेत गर्दै महतले काँग्रेस संविधान विरोधी कुनै गतिविधिमा सहमत नहुने बताए। “संविधानको विरोधमा जानु उचित होइन भन्नेमा हामी दृढ छौं,” उनले भने।

यसैबीच, प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको दिन जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा रहनुपर्ने बताएका थिए। उनले सो दिनको राजावादी आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए।

काँग्रेसले भने प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिबाट आफूहरू सहमत नरहेको जनाउँदै सत्ता साझेदार भए पनि विचार र दृष्टिकोण फरक हुन सक्ने संकेत गरेको छ।

प्रतिक्रिया