बत्ती गएकाे भन्दै फेक कल गरेर आतंक फैलाउनेलाई कारबाही गरिने मन्त्रीको चेतावनी


काठमाडौ‌ं- उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले देशमा आवश्यकताअनुसार पर्याप्त विद्युत आपूर्ति भइरहेको बताएका छन्। आइतबार साँझ कुलेश्वरस्थित ‘नो लाइट’ शाखाअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताका गुनासा र प्राविधिक कठिनाइबारे जानकारी लिएको उनले बताए।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले विद्युत अवरुद्ध हुनुको कारण उत्पादन कमी नभई प्राकृति प्रकोप भएको स्पष्ट पारे। “हावाहुरी र चट्याङजस्ता विपद्‌का कारण अस्थायी रूपमा आपूर्ति अवरुद्ध भएको हो,” उनले भने, “हल्लाका पछि नलाग्नुहोस्, नेपालमा हाल विद्युत आयात गर्नु परेको छैन, उत्पादन पर्याप्त मात्रामा भएको छ।”

उनका अनुसार सरकार उपभोक्तालाई सुरक्षित र भरपर्दो सेवा दिन प्रतिबद्ध छ। उनले कृत्रिम रुपमा ‘बत्ती छैन’ भन्ने भ्रम फैलाउनेहरूलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिए।

‘धेरैजसो अझै पनि फेक कलहरु आइरहेको कुरा गर्नुभएको छ । २४ सै घण्टा टेलिफोन उठाउने र २४ सै घण्टा अवरुद्ध भएको ठाउँमा सप्लाइ पनि दिने । उहाँहरु ट्याली पनि गर्नुहुँदो रहेछ । मेरो एरियामा गयो भन्नुहुन्छ, उहाँहरुले क्रस चेक गर्नुहुँदो रहेछ । क्रस चेक गर्दा बत्ती नगएको पाइयो भन्नुभएको छ,’ उनले भने,’कुनै कुनै कारणले र्‍युमर गरिरहेको हो भने त्यसो नगरिदिनु हुन आग्रह गर्न चाहन्छु । त्यस्ता टेलिफोन नम्बर नोट गरेर पुलिस कहाँ दिनुहोला । भ्रममा पार्ने, आतंक फैल्याउने हिसावले काम गर्नेलाई दण्डित पनि गरिन्छ ।’

उनले आम उपभोक्तालाई अफवाहमा नफसिन र सत्य जानकारीको आधारमा मात्रै धारणा बनाउन आग्रह गरे।

प्रतिक्रिया