उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्रा खेती


पर्वत- पर्वतको फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीतिसँगै कृषिलाईसमेत निरन्तरता दिएकी छन् । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्रा खेती गर्दै आएकी छन् । उनको काँक्राखेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे लोकल जातको काँक्राको मूल बीउ उत्पादनका लागि हो ।

दुई दशकदेखि व्यावसायिक कृषिमा होमिएकी क्षेत्रीले तीन वर्षअघिसम्म व्यावसायिक गाईपालन गर्थिन् । उनले १५ वटासम्म गाई पालेर दैनिक झण्डै एक सय लिटर दूध बिक्री गर्थिन् । २०७९ को चुनावमा फलेवास नगरपालिकाको उपप्रमुखमा विजयी भएपछि व्यस्तताका कारण व्यावसायिक गाईपालन छाडेर व्यावसायिक काँक्रा खेतीमा लागेकी हुन् ।

क्षेत्रीले २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारीखेती गर्दै आएकी हुन् । अहिले उनले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्रा खेती गरेकी छन् । उनले हरेक वर्ष चदेखि सात लाखसम्म काँक्राको बीउ बिक्री गरेर आम्दानी गर्दै आएकी छन् ।

उपप्रमुख क्षेत्रीले काँक्रा खेतीलाई निरन्तरता दिएपछि गाउँलेसमेत काँक्राको व्यावसायिक उत्पादनमा सक्रिय भएर लागेका छन् । उनका पेसामा श्रीमान् सोमबहादुरले साथ दिएका छन् । गत वर्ष केही कम आम्दानी भएकामा यस वर्ष अनुकूल हावापानी र मौसमले उत्पादन पनि बढेकाले काँक्राको आम्दानी पनि बढ्ने अनुमान सोमबहादुरले गरेका छन् ।

‘हाम्रो परिवारले मात्र सात लाखसम्मको बीउ, बिक्री गर्छौं, अरू व्यक्ति र समूहको गर्दा करोडौँको बीउ निर्यात गर्ने गरेका छौँ’, क्षेत्रीले भनिन्, ‘जनताको सेवा गरेर बचेको समय कृषिकर्ममा लगाउने गरेकी छु ।’

उनले आफू उपप्रमुख भएपछि धेरैजसो कृषकमुखी कार्यक्रम नगरबाट ल्याउन सफल भएको दाबी गरिन् । उन माओवादी केन्द्रबाट विजयी भएकी हुन् । ‘म दिउँसो नगरमा भए पनि साँझबिहान गाईगोठ र खेतबारीमै हुन्छु । मैले भोग्ने दैनिक समस्या नगरवासीका साझा हुन् । त्यसैले नगरमा धेरैजसो किसानकै मुद्दा र आवाज उठाउने गरेकी छु,’ उनले भनिन् ।

प्रतिक्रिया