

आज पोखरा जाँदै प्रधानमन्त्री, युवा संघको महाधिवेशन उद्घाटन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।
शुक्रवारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा जान लागेका हुन् ।
पोखराको अमरसिंह चौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । बिहान ११ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली पोखरा जानेछन् । प्रधानमन्त्री ओली पोखरा आउने भएपछि पोखराको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
युवा सङ्घको १० औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतले सम्बोधन गर्ने कार्यतालिका छ ।
युवा सङ्घको महाधिवेशनमा देशभरबाट २ हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

