विदेशबाट पनि लोडसेडिङको गुनासो, मन्त्री खड्का भन्छन्- राति १२ बजे फोन आउँछ


काठमाडाैं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट राति–बिहानै फोन गरेर लोडसेडिङ भएको गुनासो आउने गरेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले केही व्यक्तिहरूले अनावश्यक रुपमा भ्रम फैलाउने काम गरिरहेको गुनासो गरे।

“विदेशबाट पटक–पटक फोन आउँछ,” मन्त्री खड्काले भने, “राति १२ बजे पनि फोन गर्छन्, भन्छन्– यहाँ बत्ती गयो। तर जाँच्दा त्यहाँ कतै पनि लाइन गएको हुँदैन। एउटै नम्बरबाट बारम्बार यस्तो फोन आउँछ, जुन नियोजित दुष्प्रचारजस्तो देखिन्छ।”

उनले उत्पादन कम भएको समयमा पनि आवश्यकताअनुसार विद्युत् आपूर्ति भइरहेको दाबी गरे। “कम उत्पादन भएको बेला पनि विद्युत् आयात गरेर माग धानिएको छ,” मन्त्री खड्काले स्पष्ट पारे, “लोडसेडिङ उत्पादनको कमीका कारण भएको होइन। अवरोध कहाँ र किन भयो भन्नेबारे जानकारी दिनेसमेत काम भइरहेको छ। गलत प्रचारमा नलाग्न सबैमा आग्रह गर्छु।”

मन्त्री खड्काले ऊर्जा क्षेत्रमा यथार्थ बुझेर मात्र धारणा बनाउन आग्रह गर्दै अनावश्यक आशंका र प्रचारप्रति सचेत रहन अपिल गरेका छन्।

प्रतिक्रिया