शिक्षिकाहरूले पिटे, पानी पनि नदिएर तड्पाए: त्यसपछि भयाे नर्सरीमा पढ्ने बालकको मृत्यु


नयाँ दिल्ली — भारतकाे प्रयागराजस्थित डीडीएस क्यान्भेन्ट स्कूलमा बिहीबार बिहान नर्सरीका चार वर्षीय विद्यार्थी शिवाय जायसवालमाथि दुई शिक्षिकाद्वारा कुटपिट गरेपछि मृत्यु भएको घटना सार्वजनिक भएको छ।

पोस्टमार्टम रिपोर्टअनुसार बालकको टाउकोमा गहिरो चोट र मुख थिचिएर श्वास अवरुद्ध हुँदा मृत्यु भएको पुष्टि भएको हाे। रगतका नमूनाहरू सुरक्षित गरी परीक्षणका लागि राखिएकाे छ।

कक्षा दुईमा पढ्ने शिवायका जेठो दाइ सुमित जायसवालले प्रहरी तथा परिवारलाई सुनाएको विवरणअनुसार, बालक विद्यालयमा रोइरहँदा शिक्षिकाहरूले थप्पड र लठ्ठीले बारम्बार प्रहार गरेका थिए। बालकले पानी माग्दा पनि पानी नदिइएपछि केही बेरमा उनी बेहोस भए। त्यसपछि  आफन्तले अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरी निरीक्षक नैनी बृजकिशोर हज गौतमले भने “पोस्टमार्टमले देखाएको घाउ र रगत नजोडिने अवस्थामा मुख थिचिएर श्वास अवरुद्ध भएको पुष्टि भयो।” घटनामा संलग्न अज्ञात दुई शिक्षिकाविरुद्ध  हत्या आरोपमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ।

घटनापछि विद्यालयमा ताला लगाइएको छ भने व्यवस्थापन र शिक्षिकाहरूले सम्पर्क नम्वर बन्द गरेका छन्। बलरामपुर शिक्षा कार्यालयले प्रादेशिक शिक्षा अधिकृत प्रवीण तिवारीको निर्देशनमा शिक्षाधिकारीमार्फत विस्तृत छानबिन थालेकाे छ।

प्रतिक्रिया