

नेपाल-भारत सीमाबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं- सिरहाको बरियारपट्टी गाउँपालिका-३ बाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
चिनियाँ नागरिक यू सिचाओ र दुई नेपालीलाई एसएसबीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको थियो। दुवै नेपालीलाई शुक्रबार राति छाडिएको छ भने चिनियाँ नागरिक एसएसबीकै नियन्त्रणमा छन्।
बरियारपट्टी गाउँपालिका ३ दसगजा नजिक उभिएर भारत तर्फको फोटो खिचेको देखेपछि तीन जनालाई नियन्त्रणमा लिइएको भारतीय प्रहरी स्रोतले बतायो।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बरियारपट्टी स्रोतका अनुसार बरियारपट्टीको जीवछ साहको घर छेउबाटै चिनियाँ नागरिक र दुई नेपालीलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गएको बताइएको छ।
चिनियाँ नागरिक यू सिचाओ तीन महिनाका लागि नेपाल आएका उनको पासपोर्टबाट खुलेको छ । शंकास्पद गतिविधि गरेपछि चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको भारतीय पक्षले दाबी गरेको छ ।

