ऐठनमा रहेको प्रतिनिधि सभा यसरी हुँदैछ भंग, अर्ली चुनावको विकल्पतिर राजनीति


काठमाडौं– प्रक्रियागत रुपमा प्रतिनिधि सभा भंग भई मुलुक चुनावतिर उन्मुख हुने प्रष्ट राजनीतिक तस्बिर देखिन थालेको छ। कुनै पनि विषयमा दलहरू निर्णयमा पुग्न नसक्नु तथा पुनःस्थापित संसद बिजनेश बिना ऐठनमा रहनुले यहि तस्बिर देखाएको जानकारहरू बताउँछन्।

यसका अभ्यासका रुपमा एमालेको अन्तरपार्टी निर्देशन, प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका केही सांकेतिक घोषणा र दलहरूका विरोधाभाष अवस्था हुन्।

एमाले अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै चुनावी तयारीमा लाग्नका निम्ति निर्देशन दिइसकेका छन्। उक्त निर्देशन ७७ जिल्लामा नै पुगिसकेको छ।

मंगलबारमात्र प्रधानमन्त्री ओलीले आगामी साउन १ देखि बृद्धभत्ता बढाउने घोषणा गरेका छन्। एमालेले यो घोषणा र कार्यान्वयन चुनावी बजेटका बेला मात्र गर्दै आएको छ। खासगरी संसदको अहिलेको हिउँदे अधिवेशन सकिएपछि वैशाखमा बजेट अधिवेशन सुरू हुनेछ।

त्यसअघि प्रधानमन्त्री ओलीको सरकार अल्पमतको भइसकेको हुनेछ। ‘त्यहि सरकारले बजेट ल्याउनेछ र त्यो चुनावी बजेट हुनेछ’, उच्च स्रोतले भन्यो,‘त्यसअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि एक महिनाको अवधिभित्र संसद भंग हुने राजनीतिक अवस्था देखिसकिएको छ।’

कसरी?

माओवादी स्थायी समितिको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। अहिले चलिरहेका बैठकमा वा अर्को अधिवेशनमा संसदमा उक्त समर्थन फिर्ता लिनासाथ ओली सरकार काम चलाउ हुनेछ र वैकल्पिक सरकारका निम्ति राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नेछिन्।

संसदको ठूलो दलको नेता भएका कारण ओलीले विश्वासको मतका लागि अपिल गर्नेछन्। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेका सबै दलले ओलीलाई विश्वासको मत दिने छैनन्। तर, त्यसको विकल्पमा अर्को बहुमतको सरकार बन्ने अवस्थामा पनि छैनन्, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र।

नेपाली कांग्रेस ओली सरकारले गराएको अर्ली चुनावमा ठूलो दल बन्ने ध्याउन्नमा रहेको छ। यसकारण पनि सभापति शेरबहादुर देउवा अहिले वैकल्पिक समीकरणका लागि तयार छैनन्। बरु, चुनावकै तयारीमा रहेका उनले एउटा सभामा भनेका थिए,‘निर्वाचन आयोग के गर्दैछ? चुनावी कार्यक्रम किन निकालिरहेको छैन?’

निर्वाचन आयोगले देशभरी नै मतदाता नामावली आवधिक गरिरहेका कारण आन्तरिक रुपमा चुनावी तयारी तिव्रताका साथ अघि बढेको संकेत पनि मिलेको छ।

उच्च स्रोतले भन्यो,‘सदनमा वैकल्पिक समीकरण पनि नबन्ने अवस्था रहेकाले ओलीको काम चलाउ सरकारले विस्तारै संविधानको धाराअनुसार प्रतिनिधि सभा भंग गरी चुनाव घोषणा गर्नेछ।’

रणनीतिक रुपमा नै उक्त अवस्थामा पुग्ने देखेरै प्रधानमन्त्री ओलीले बालुवाटारमा एमाले संसदीय दलको बैठकमा केही समयअघि भनेका थिए,‘संसद विघटनको औचित्य अब पुष्टि हुनेछ।’

ओली चुनावी मैदानमा नै उत्रिने तयारीमा भएपछि आगामी मंसिरलाई समयसीमा बनाउन सकिने बताइन्छ। कतिपय राजनीतिक विश्लेषकहरूले भने प्रचण्ड चुनावलाई रोक्न चहान्छन्।

प्रतिनिधि सभाको समयसीमालाई कायम राखे त्यस अवधिमा प्रचण्डले राजनीतिक शक्ति आर्जनका निम्ति अभ्यास र कसरत गर्ने मुमाराम खनालको विश्लेषण छ।

प्रतिक्रिया