प्रधानमन्त्री ओली र काल्मिकियाका प्रमुखबीच भेट, रुसी सेनामा नेपाली भर्ती नगर्न आग्रह


काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा नेपाल र रूसबीचको दीर्घकालीन मित्रता र आपसी सहयोगका विविध आयामबारे छलफल भएको थियो।

भेटका क्रममा प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले उक्त निमन्त्रणालाई सकारात्मक रूपमा लिएका छन्।

यस अवसरमा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणमा आउन निमन्त्रणा पठाउन आग्रह गरे। साथै, नेपाल र रूसबीच कुनै सैन्य सम्झौता नभएको सन्दर्भ उठाउँदै नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगरियोस् भन्ने सन्देश पनि पठाइदिन आग्रह गरे।

प्रमुख कासिकोभले प्रधानमन्त्रीको चिन्तालाई गम्भीरतापूर्वक लिँदै अबदेखि त्यस्तो प्रकारको भर्ती नगरिने विश्वास दिलाएका छन्।

भेटमा नेपालस्थित रुसी राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया