तारकेश्वरमा नक्कली प्रमाणपत्र बनाउने कारखाना, ८ वर्षदेखि हुँदै थियाे काम


काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–७, फुटुङस्थित एक घरमा नक्कली कागजात बनाउने कारखानामा प्रहरीले छापा मारेको छ। विभिन्न सरकारी तथा गैरसरकारी कागजातहरू कीर्ते गरी बनाउने गिरोहमाथि बुधबार नेपाल प्रहरीले कारबाही गरेको हो।

प्रहरीले आज (बिहीबार) पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिएको हो। कारबाहीको क्रममा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा गोरखा भीमसेन थापा गाउँपालिका–१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ का निर्मल खड्का र मकवानपुर कैलान गाउँपालिका–२ की अञ्जु खत्री रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले विगत ८ वर्षदेखि विभिन्न सरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरूका कागजातहरू कीर्ते गरी नक्कली प्रमाणपत्र बनाउँदै आएका थिए। उनीहरूले स्थानीय तहका सिफारिस, शैक्षिक प्रमाणपत्र, नागरिकता, सवारी चालक अनुमति पत्र, जग्गाधनी प्रमाण–पूर्जा लगायतका कागजातहरू नक्कली बनाउँदै प्रयोगमा ल्याउने गरेको प्रहरीले जनाएको छ।

यसबाहेक, डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्रसमेत तयार पार्ने गरेको पनि अनुसन्धानबाट खुल्न आएको छ। प्रहरीका अनुसार उनीहरूले तयार पारेका कागजातहरू विभिन्न स्थानमा बिक्री तथा प्रयोग गर्ने कार्यमा संलग्न थिए।

प्रहरीले उक्त गिरोहविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने अन्य संलग्न व्यक्ति र सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया