दाङको लमहीमा विद्युत् सबस्टेशनमा आगलागी, विद्युत् आपूर्ति पूर्णरूपमा बन्द


दाङ- दाङको लमही नगरपालिका–५ स्थित विद्युत् सबस्टेशनमा आगलागी भएको छ। ११ केभी प्रशारण लाइन सट भई ट्रान्सफर्मर पड्किएपछि आगलागी सुरु भएको हो।

स्थानीय पत्रकार शिवु खनालका अनुसार लाइन सट भएर सुरुमा सानो ट्रान्सफर्मर विस्फोट भएको थियो, जसपछि सबस्टेशनमा आगो सल्किएको हो।

आगलागी नियन्त्रणका लागि हाल लमही नगरपालिकाको दमकल र वडा प्रहरी टोली घटनास्थलमै खटिएको छ। खनालले भने, “झन्डै आधा घण्टा अघिदेखि आगो लागेको हो। अहिले दमकल आइपुगेको छ र आगो नियन्त्रणको प्रयास भइरहेको छ।”

उनका अनुसार आगलागीका कारण लमही क्षेत्रमा पूर्णरूपमा विद्युत् आपूर्ति बन्द भएको छ। यद्यपि, सबस्टेशन नजिकै वन क्षेत्र रहे पनि हरियाली घनत्वका कारण आगो फैलिने जोखिम न्यून रहेको जनाइएको छ।

प्रतिक्रिया