रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट लगातार दोस्रोपटक हेर्न नमिल्नेमा


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट लगातार दोस्रोपटक हेर्न नमिल्नेमा परेको छ। मंगलबारका लागि सर्वोच्च अदालतमा रिटको पेसी तोकिए पनि सुनुवाइ हुन सकेन।

यसअघि आइतबार न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा मुद्दा परे पनि न्यायाधीश पोखरेलले वकालतकालमा लामिछानेका मुद्दाहरूमा संलग्न भएका कारण हे.न. जनाएका थिए।

त्यस्तै मंगलबार पुनः पेसी तोकिएको रिट न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको थियो। तर न्यायाधीश फुयालले लामिछानेको पासपोर्टसम्बन्धी मुद्दामा पहिले निर्णय गरिसकेका कारण यसपटक पनि हेर्न नमिल्ने सूचीमा परेको हो।

यसअघि ९ वैशाखमा न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गर्दै सुनुवाइ अगाडि बढाउने निर्णय गरेको थियो।

बन्दीप्रत्यक्षीकरण रिटसँगै लामिछानेमाथि उच्च अदालत तुलसीपुरले दिएको थुनामा पठाउने आदेशविरुद्धको रिट पनि सोही इजलासमा राखिएको थियो। जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उच्च अदालतले त्यसलाई उल्टाउँदै थुनामा पठाउन आदेश दिएको थियो।

सो आदेशविरुद्ध सर्वोच्च पुगेको रिटसमेत हाल हे.न. मा परेका कारण सुनुवाइ अघि बढ्न सकेको छैन।

प्रतिक्रिया