

अमृतसरमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

पञ्जाब, भारत — अमृतसरको मजिठा क्षेत्रमा नक्कली मदिरा सेवनका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।
समाचार एजेन्सी एएनआईका अनुसार घटना अमृतसर जिल्लाका पाँच वटा गाउँमा फैलिएको छ। अमृतसरका एसएसपी मनिंदर सिंहले सञ्चारकर्मीसँग कुरा गर्दै बताएअनुसार घटना सोमबार राति करिब ९:३० बजे सुरु भएको हो।
“हामीले घटना भएको खबर प्राप्त गर्नासाथ घटनास्थलमा पुग्यौं र अनुसन्धान थालेका छौं,” उनले भने, “मुख्य आपूर्तिकर्ता परबजीत सिंहसहित चार जनालाई पक्राउ गरिएको छ।”
एसएसपी सिंहका अनुसार राज्य सरकारले नक्कली मदिरा उत्पादन तथा आपूर्तिमा संलग्नहरूलाई कडा कारबाही गर्न निर्देशन दिइसकेको छ। अहिले घटना सम्बन्धी थप अनुसन्धान जारी छ।

