युद्धविरामसँगै भारत र पाकिस्तानबीच आज वार्ता


नयाँदिल्ली – भारत र पाकिस्तानबीच सोमबार वार्ता हुँदैछ। दुई साताअघि जम्मु काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावकै बिच शनिबार युद्धविराम घोषणा गरेका थिए ।

भारतको विदेश मन्त्रालयकाअनुसार सोमबार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्ने छन् ।

भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मु काश्मीर क्षेत्रलाई लिएर टकराव चल्दै आएको छ । योपटक युद्धमै उत्रिएका दुई देशलाई मानवीय क्षति हुने संघर्षमा नजान विभिन्न मुलुकले आग्रह गर्दै आएका थिए । अमेरिकाले दुई देशबीच तत्काल युद्धविरामसहित विवादका विषयमा वार्तामार्फत सुल्झाउन सुझावसहित युद्धविरामका लागि पहल गरेको थियो । उसले आवश्यक परे जम्मु-काश्मीर विवाद सल्टाउनका लागि आफू मध्यस्थता गर्न तयार रहेको प्रष्ट पारेको छ ।

शनिबार घोषित युद्धविरामसँगै भारत र पाकिस्तानका दुवै पक्षले आक्रमण प्रत्याक्रमण रोकेका छन् । वार्ताका विषयवस्तुबारे दुई देशका सरकार र सैन्य अधिकारी तयारीमा जुटेका छन् ।

प्रतिक्रिया