आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटः आज हङकङसँग खेल्दै नेपाल


काठमाडौं — आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट थाइल्याण्डमा आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आजै हङकङसँग खेल्दै छ ।

नेपाल र हङकङबीचको खेल टेक्नोलोजी ग्राउण्ड बैंककमा विहान सवा ८ बजेदेखि सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण आइसीसी टिभीमा हेर्न सकिनेछ ।

९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।

लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।

नेपाली टोलीले थाइल्याण्ड जानुअघि भारतमा अभ्यास खेलहरू खेलेको थियो ।

नेपालको टोलीः इन्दु बर्मा (कप्तान), पुजा महतो, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा

 

प्रतिक्रिया