लघुवित्त पीडितहरूको माइतीघरमा प्रदर्शन, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने


काठमाडौं – लघुवित्त तथा मिटरब्याज पीडितहरू आज पुनः काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका छन्। देशका विभिन्न जिल्लाबाट आएका उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

पीडितहरूले लघुवित्तीय संस्थाहरूले थोपरेको अत्यधिक ऋण, ब्याज शोषण र सामाजिक असमानताको विरुद्धमा लामो समयदेखि आवाज उठाउँदै आएका छन्। उनीहरूको आरोप छ– सरकारले पटकपटक सम्झौता गरे पनि समस्याको समाधान गर्नेतर्फ कुनै प्रभावकारी कदम चालेको छैन।

प्रदर्शनकारीहरूले सरकारलाई चेतावनी दिँदै माग पूरा नभएसम्म जिल्ला नफर्किने अडान लिएका छन्। उनीहरूले सामूहिक ऋण मिनाहाको व्यवस्था, गरिब किसानलाई निःशुल्क ऋण, काम र दाम क्षमताअनुसारको सुनिश्चितता, जनमुखी मौद्रिक नीति, धितो लिलामी तथा कालोसूची फुकुवा, भूमिहीन तथा वित्तीय पीडितलाई क्षतिपूर्ति, र प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

सरकारको बेवास्ताप्रति आक्रोश व्यक्त गर्दै आन्दोलनकारीहरूले आफ्नो अधिकार सुनिश्चित नभएसम्म संघर्ष जारी रहने बताएका छन्।

प्रतिक्रिया