भारत–पाक भिडन्त: पाकिस्तानी सेनालाई जवाफी कारबाहीको आदेश


काठमाडाैं- भारतले बुधबार राति पाकिस्तान र पाक-अधिकृत कश्मीरमा गरिएको मिसाइल आक्रमणपछि पाकिस्तानले आफ्नो सशस्त्र बललाई ‘जवाफी कारबाही’ गर्न अधिकार दिएको छ। प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले एक विज्ञप्तिमार्फत् यो जानकारी दिएको हो।

यो आक्रमण पछिल्ला दशकहरूमा दुई आणविक शक्ति मुलुकबीचको सबैभन्दा खतरनाक झडपका रूपमा चित्रित गरिएको छ। पाकिस्तानले आक्रमणका क्रममा भारतका पाँच विमान खसालिएको दाबी गरेपनि भारतीय रक्षा मन्त्रालयले यसलाई पुष्टि गरेको छैन।

भारतले जैश-ए-मोहम्मद  र लश्कर-ए-तैयबा जस्ता आतङ्ककारी समूहहरूको ‘आतङ्ककारी पूर्वाधार’ निशाना बनाइएको दाबी गरेको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले पाकिस्तानमा रहेका आतङ्ककारी समूहहरूबाट थप आक्रमणको जोखिम रहेको जानकारी पाएपछि ‘पूर्वसावधानी र प्रि-एम्प्टिभ स्ट्राइक’ गरिएको बताएका छन्।

पाकिस्तानको दाबी अनुसार भारतले छ स्थानमा आक्रमण गर्‍यो, तर ती कुनै पनि स्थान आतङ्ककारी शिविर नभएको बताएको छ। पाकिस्तानी सेनाका अनुसार आक्रमणमा २६ जना सर्वसाधारण मारिए भने ४६ जना घाइते भएका छन्। जैश-ए-मोहम्मद समूहले एक विज्ञप्तिमार्फत् आफ्नो नेता मसूद अजहरका १० जना आफन्त मारिएको जनाएको छ।

जवाफी आक्रमणमा पाकिस्तानबाट भएको गोलाबारी र फायरिङमा भारततर्फ कम्तीमा सात सर्वसाधारणको मृत्यु भएको र ३० जना घाइते भएको भारतीय प्रहरी तथा स्वास्थ्यकर्मीहरूले बताएका छन्।

यो झडप केही साताअघि कश्मीरमा भएका आतङ्कवादी हमलामा २६ जना पर्यटक (धेरैजसो भारतीय) मारिएपछि सुरु भएको हो। तनाव बढिरहेका बेला रसिया, चीनजस्ता राष्ट्रहरूले शान्ति र संयमको आग्रह गरेका छन् भने बेलायतले दुबै देशबीचको तनाव कम गर्न सहयोग गर्न तत्पर रहेको जनाएको छ।

प्रतिक्रिया