

श्रीमतीको फेसबुकमा अर्कै युवकको फोटो देखेपछि…

काठमाडौं – वैवाहिक सम्बन्धमा बढ्दो अविश्वास, पारिवारिक कलह र मानसिक तनावले सुर्खेतमा एक महिलाको ज्यान लिएको छ।
आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका-१२ स्थित झिंगेनारा खोलामा फेला परेकी मृतक २६ वर्षीया प्रेमा ओली खत्रीको हत्या श्रीमान् दर्शन खत्रीले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। नेपाली सेनामा कार्यरत २८ वर्षीय खत्रीले शंका र रिसको झोकमा पत्नीको ज्यान लिएको प्रहरीको भनाइ छ।
प्रेमाले फेसबुकमा अर्को पुरुषको फोटो राखेपछि हत्या योजना बनाएको र झगडाको क्रममा ढुंगाले टाउकोमा प्रहार गरी सलले घाँटी कसेर हत्या गरी खोल्सामा फालेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
तर घटनाको पछाडिको सन्दर्भ अझै गम्भीर छ। प्रहरीका अनुसार, सम्बन्धमा विगत पाँच वर्षदेखि असमझदारी बढिरहेको थियो। श्रीमान् आफैँ पनि बाहिर तीन जना युवतीहरूसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। जब प्रेमाले शंका गर्न थालिन् सम्बन्ध तनावपूर्ण बन्दै गयो। विछोडको सम्भावनाबीच दुबैजनाबीच गम्भीर संवादको अभावले अन्ततः हिंसातर्फ धकेल्यो।
प्रेमाले गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा पाँच वर्षीया छोरीसहित बस्दै आएकी थिइन्। एकअर्कामाथि शंका र निरन्तर कलहबीच प्रेम विवाहमा बाँधिएका दुई युवा अन्ततः हिंसात्मक टकरावको सिकार भए।
इलाका प्रहरी कार्यालय छिन्चुमा ल्याएपछि उनले हत्या स्वीकार गरेपछि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ ।

