

फेवातालमा फसेका ८ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

पोखरा – फेवातालमा बोटिङ गर्ने क्रममा आएको हावाहुरीका कारण तालमै फसेका आठ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
चितवनको भरतपुर महानगरपालिका–५ निवासी २१ वर्षीय रेशम थापा फेवातालमा डुबेका थिए। उनलाई सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको विपद् उद्धार टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो।
त्यस्तै, हावाहुरीकै कारण कायाक बोटमा सवार १ जना र डुङ्गामा बोटिङ गरिरहेका अन्य ६ जना गरी कुल ७ जनाको पनि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
समयमै गरिएको उद्धार कार्यका कारण कुनै मानवीय क्षति नभएको जनाइएको छ।

