

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडाैं- लगातारको वर्षाले भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसमका कारण जजिर एयरको विमान भारतको बनारस डाइभर्ट भएको छ भने बुद्ध एयरको माउन्टेन फ्लाइट पनि प्रभावित भएको छ। रामेछापबाट लुक्ला उड्न लागेको समिट र तारा एयरका तीन विमान समेत डाइभर्ट भएका छन्।
काठमाडौं–थामखर्क उडानसहित दुर्गम क्षेत्रका केही उडानहरू पनि अवरुद्ध भएका छन्।
हाल काठमाडौं उपत्यकासहित केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। पश्चिमी वायु, स्थानीय प्रभाव र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, लुम्बिनी प्रदेश तथा देशका पहाडी भागमा मेघ गर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षा, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

