

EXCLUSIVE: काठमाडौंमा ‘डिभाइस’ जोडेर यसरी हुन्छ जुवामा लुटपाट [भिडिओसहित]
५० लाख लुटिएपछि खुल्यो रहस्य, बुकी फरार

काठमाडौं— राजधानी काठमाडौंको टोखा क्षेत्रस्थित एक घरमा प्रविधिको प्रयोग गरी योजनाबद्ध तरिकाले जुवा खेलाएर करोडौंको लुटपाट हुँदै आएको खुलासा भएको छ । कागजपत्रलाई प्राप्त जानकारी अनुसार, जुवा खेलाउने गिरोहले अत्याधुनिक तरिकाले डिभाइस प्रयोग गरेर खेल नियन्त्रण गर्ने रणनीति अपनाउँदै आएको थियाे ।
स्रोतका अनुसार, घरबेटीसँग मिलेर काम गर्ने एक समूहले कौडा खेलमा प्रयोग गरिने कार्पेटमुनी विशेष डिभाइस राखेका थिए । उक्त डिभाइसको तारजडान सोही घरको अर्को कोठासम्म गरिएको थियो । जहाँ बसेर बुकीहरूले खेल नियाल्ने र मनपर्ने तवरले कौडा मिलाउने गर्थे ।
यस प्रविधिको जानकारी केही निश्चित जुवाडेहरूलाई मात्र दिइन्थ्यो । उनीहरूलाई निरन्तर जिताउने रणनीति अन्तर्गत खेल हाँक्ने काम बुकीहरूले अर्कै कोठाबाट गुपचुप रुपमा गर्थे । यसरी भित्री मिलोमतो भएको जुवामा पछिल्लो पटक ५० लाख रुपैयाँको ‘झ्वाम’ भएको खुलेको छ ।
कसरी खुल्यो रहस्य ?
बारम्बार हारिरहेकाहरुले केही गडबडी भइरहेको आशंका गरेपछि उनीहरूले खेल भइरहेको कोठामा खोजतलास गर्दा कार्पेटमुनि लुकाइएको डिभाइस फेला पारे । डिभाइस भेटिएपछि आक्रोशित जुवाडेहरूले घरबेटीमाथि कुटपिट समेत गरेका थिए । त्यसबेला खेल चलाइरहेका बुकीहरू भने घटना स्थलबाट भागिसकेका थिए ।
घरबेटीले भने आफूलाई कुनै पनि डिभाइसको जानकारी नभएको दाबी गरेका छन् । यद्यपि, उनी पनि योजनामा संलग्न हुन सक्ने आशंका गरिएको छ ।
को-को छन् संलग्न?
जानकारी अनुसार, यस जुवा गिरोहमा नविन भोटे, राज कुमार अधिकारी र कमल नामक व्यक्तिहरू संलग्न रहेका छन् । उनीहरूले यसअघि पनि विभिन्न स्थानमा प्रविधिको प्रयोग गरेर जुवा हाँकेका थिए भन्ने आशंका गरिएको छ ।
यति ठूलो रकमको ठगी भएको घटनापछि समेत स्थानीय प्रहरीलाई यसबारे औपचारिक जानकारी दिइएको छैन । घटनाको प्रकृति हेर्दा यो समूह लामो समयदेखि सक्रिय रहँदै आएको देखिन्छ ।

