

यार्सागुम्बा व्यापारको बहानामा ठगी गर्ने पूर्व प्रहरी ठमेलकाे दोहोरी साँझबाट पक्राउ

काठमाडौं— यार्सागुम्बा व्यापारमा लगानी गराउने नाममा लाखौं ठगी गरेको आरोपमा एक पूर्व प्रहरी पक्राउ परेका छन्। जाजरकोट नलगाड नगरपालिका–७ दल्ली घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ४१ वर्षीय दिपेन्द्र सिंहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार ठमेलस्थित दोहोरी साँझबाट पक्राउ गरेको हो।
नेपाल प्रहरीका पूर्व हवल्दार सिंहले सामाजिक सञ्जालमार्फत चिनजान भएका एक व्यक्तिसँग यार्सागुम्बा कारोबारमा लगानी गराउने भन्दै ३६ लाख रुपैयाँ लिएर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।
सिंहविरुद्ध सुर्खेतमा ३० लाख बराबरको बैंकिङ्ग कसुरसम्बन्धी जाहेरी दर्ता गरिएको समेत भेटिएको छ। साथै, उनले बाँकेमा प्रहरीमा भर्ना गराइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा अर्को जाहेरी परेको छ।
यसका अतिरिक्त, सेनामा भर्ती गराइदिने भन्दै सिंहले ४ लाख रुपैयाँ लिएको उजुरी इलाका प्रहरी कार्यालय, कोहलपुरमा दर्ता भएको तथ्य पनि प्रहरी अनुसन्धानमा खुलेको छ।
प्रहरीले सिंहविरुद्ध थप अनुसन्धान अघि बढाएको छ।

