सिडिओ र दुई एसपीको आकस्मिक सरुवाको कारण मन्त्रीहरूको ‘ब्याड मुड’
बुटवल– गृह मन्त्रालयले सोमबार साँझ आकस्मिक निर्णय गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पिताम्बर घिमिरे, प्रहरी प्रमुख (एसपी) प्रवीण पोखरेल र सशस्त्रका गणपति (एसपी) भरत खनियाँको सरुवा गर्नुको कारण दुई मन्त्रीको ‘ब्याड मुड’ रहेको खुलेको छ।
मन्त्रालयले सिडिओ घिमिरेको ठाउँमा पर्साबाट अस्मान तामाङ, प्रहरी प्रधान कार्यालयले पोखरेलको स्थानमा एसपी मनोज केसी र सशस्त्र मुख्यालयले खनियाँको ठाउँमा राजेश उप्रेतीलाई पठाएको छ।
२०७७ भदौमा रुपन्देहीको प्रजिअ भएका घिमिरेलाई पर्सा जिल्ला पठाइएको छ। एसपी पोखरेललाई ६ महिना नपुग्दै प्रधान कार्यालय तानिएको छ भने सशस्त्र २७ नम्बर गण प्रमुख खनियाँलाई दुई महिना नपुग्दै तानेर उप्रेतीलाई पठाइएको हो।
स्रोतका अनुसार गत २१ फागुनमा बुटवलको रानीगन्जमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका क्रममा स्थानीयले दुई मन्त्रीहरू लखेटेपछिको परिणाममा उनीहरूको सरूवा गरिएको हो।
स्थानीयले अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टलाई लखेटेका थिए। आफ्ना घर तथा जग्गा भएको क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै त्यतिबेला स्थानीय ढुंगामुडामा नै उत्रिएका थिए। सुरक्षा व्यवस्थाबारे जानकारी नगराएको, हेलचेक्राँई गरेको भनी पौडेल र भट्टको गुनासोका आधारमा नै गृहले तीन अधिकारीलाई फेरेको हो।
अर्थमन्त्री पौडेल यसरी आफ्नै जिल्लामा लखेटिएपछि त्यसको ‘रिस’ प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा प्रमुखमाथि फेरेको आरोप छ।
‘कारवाही नै त नभनौ तर, घटनाबारे पूर्वानुमान गर्न नसकेर ‘प्रशासनिक ल्याकिङ’ भएको देखिएपछि साटफेर गरिएको हो,’ गृह मन्त्रालय स्रोतले अनलाइनन्यूजसँग भन्यो।
अख्तियारका तत्कालिन प्रमुख आयुक्त नवीन घिमिरेको जोडबलमा रुपन्देहीको सिडिओ बन्न पुगेका घिमिरे र रुपन्देही प्रहरी प्रमुख बनेका पोखरेलले स्थानीयको आक्रोशको पूर्वानुमान गर्न नसकेपछि साटफेर गरिएको गृह स्रोतको दाबी छ।
यद्यपि स्थानीय प्रशासनको संयमितताकै कारण त्यहाँ कुनै अप्रिय घटना हुन पाएन। पछिल्लो समय कर्मचारी वृत्तमा गल्ती गरे या कसैलाई मन नपरेको अवस्थामा सबैभन्दा सजिलो कारवाही भनेको ‘सरुवा’ हो।
कर्मचारीको सरुवा कारवाही नभई नियमित प्रक्रिया भएपनि नेताहरुले यसैलाई कारवाही ठानी दिँदा सरुवा एउटा विकृतिको रुपमा मौलाउँदै आएको छ। केहीदिन अघि सिन्धुलीका प्रहरी प्रमुख पनि यस्तै विकृतिको शिकार भए।
१३ चैतमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख रहेका एसपी आभूषण तिम्सिनालाई समेत प्रहरी प्रधान कार्यालयले छोटो समयमा तान्यो। उनको ठाउँमा अर्का एसपी गोविन्द थपलियालाई जिम्मेवारी तोकिएको छ।
तिम्सिनालगायत एसपीको २१ पुसमा मात्रै सरुवा भएको थियो। जिल्लाका प्रमुखलगायतलाई भने एक बर्ष नपुगी नतान्ने नीति प्रधान कार्यालयले बनाएको थियो।
पेलेर लैजाने रणनीतिले निम्त्याएको थियो उद्दण्डता
अर्थमन्त्री पौडेलले १३ फागुनमा नै करिडोर शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो। त्यतिबेला स्थानीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर आफूहरु तीन पुस्तादेखि बसोबास गरेको तर आफूहरुलाई सम्बोधन नगरी सरकारले सडकमा लैजाने काम गर्न थालेको आरोप लगाउँदै शिलान्यास कार्यक्रमलाई अवरोध गर्ने चेतावनी दिएको थियो।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएको अवस्थालाई देखाएर त्यतिबेला शिलान्यास कार्यक्रम रोकियो। यस अघिदेखि नै क्षेत्र विभाजन गर्दै संघर्ष समितिले ज्ञापनपत्र बुझाउने काम गर्यो।
स्थानीयको बसोवास कसरी गर्ने, कहाँ राख्ने जस्ता विषयलाई ध्यान नदिए करिडोरको काम अगाडि बढाउन नदिने चेतावनीसमेत संघर्ष समितिले दिएको थियो।
त्यसलाई बेवास्ता गर्दै २१ फागुनमा अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भट्टले सयौँको संख्यामा प्रहरी परिचालन गर्दै करिडोर शिलान्यास गर्न पुगे। त्यसको विरोधमा स्थानीयवासीहरु कालोझण्डासहित नारावाजीमा उत्रिए। यसका बाबजुद अर्थमन्त्री पौडेलले मञ्चबाट सम्बोधन गर्न थालेपछि आक्रोशित स्थानीयवासीले ढुङ्गामुढा प्रहार गर्नुका साथै शिलान्यास गरेको ठाउँ नै तोडफोड गरे।
त्यसअघि पनि रुपन्देहीको सुद्धोधनका पीडित किसानले आफूहरु तीन पुस्तादेखि बस्दै आएको तर अहिलेसम्म सरकारले लालपुर्जा नदिई उल्टो औद्योगिक क्षेत्रको नाममा जबरजस्ती हटाउन खोजेको भन्दै जबरजस्ती पेलेर जान खोजेमा सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका थिए।
अर्थमन्त्री पौडेलले स्थानीयवासीका समस्या र चेतावनीलाई नजरअन्दाज गरेरै करिडोर शिलान्यास गरेरै छाड्ने दृढता देखाए। उनले विकास विरोधीहरुले जनतालाई भ्रममा पारेर उचालेको आरोपसमेत लगाए।
शिलान्यासका दिन के भएको थियो?
औपचारिक शिलान्यासअघि अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भट्टले पूजा गर्दै थिए। त्यसलगत्तै आक्रोशित स्थानीयवासीको भिड अनियन्त्रित हुन थाल्यो। स्थानीयले अर्थमन्त्रीलाई लक्षित गरी ढुंगा प्रहार गरे। प्रहरीले विरोधमा उत्रिएका स्थानीयवासीमाथि लाठी प्रहार गर्यो। यस क्रममा एक प्रहरी र केही स्थानीयवासी घाइते भए।
औद्योगिक क्षेत्र निर्माणस्थल तनावपूर्ण बन्दै थियो। अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भट्ट भने त्यसको बेवास्ता गर्दै शिलान्यासका लागि पूजामा व्यस्त भए। करिब २० मिनेटमा पूजा सकेर औद्योगिक क्षेत्रको औपचारिक रुपमा शिलान्यास भयो। भिड पनि अनियन्त्रित र आक्रोशित हुँदै थियो।
मञ्चमा आसन ग्रहण सुरु भयो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले स्थानीयवासीलाई विरोध नगर्न आग्रह गर्दै विदेशी उद्योगीलाई स्वागत गर्न आतुर रहेको बताए। यतिञ्जेलसम्म स्थानीयवासीको आक्रोश थप चुलिँदै थियो।
त्यसै क्रममा जंगल वरपर जम्मा गरिएको खरमा स्थानीयवासीले आगो लगाइदिए। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा लाठी प्रहार गर्न थाल्यो। केहीलाई नियन्त्रणमा लियो। संयम नै देखिएको प्रहरीले स्थानीयलाई मञ्च प्रवेशमा रोक्दै थियो।
यही बीचमा उद्योगमन्त्री लेखराज भट्ट बोल्न थाले। उनले कालो झन्डा देखाउने नागरिकहरुलाई विकास विरोधीको संज्ञा दिए। उनले सुदूरपश्चिममा यस्ता विकासलाई जनताले फूलमालाले स्वागत गर्ने सुनाए।
त्यसपछि अर्थमन्त्री विष्णु पौडेलको बोल्ने पालो आयो। उनी जब मञ्चमा बोल्न थाले, स्थिति तनावपूर्ण बन्यो। मञ्चलाई लक्षित गरी ढुंगा प्रहार हुन थाल्यो। अर्थमन्त्री भने संयमित हुन स्थानीयवासीलाई आग्रह गर्दै थिए।
एकैछिनमा बिजुलीको लाइन काटियो। त्यसपछि अर्थमन्त्रीको सुरक्षामा खटिएका समर्थित युवाले पनि कार्यक्रमस्थलबाटै ढुंगा हान्न थाले। स्थिति तनावपूर्ण बनेपछि अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भट्ट बाहिरिए।