

पहलगाम आक्रमणपछि कडा कारबाही: आतंककारी आदिल र आसिफको घर उडाइयो

श्रीनगर — जम्मू-कश्मीरको पहलगाममा भएको आतंकी आक्रमणपछि भारतीय सेना र प्रहरीले संयुक्त रूपमा ठूलो कारबाही थालेका छन् । एनआईए र जम्मू-कश्मीर प्रहरीले पहलगाम आक्रमणमा संलग्न रहेका दुई आतंककारी आदिल गुरी (उर्फ आदिल थोकर) र आसिफ शेख — का घरहरूमा सर्च अपरेशन चलाएको थियो । सो क्रममा संदिग्ध विस्फोटक पदार्थ भेटिएपछि दुवैको घर विष्फोट गराई नष्ट गरिएको हो ।
त्राल क्षेत्रमा भएको विष्फोटमा आसिफ शेखको घर ध्वस्त भएको छ । प्रहरीका अनुसार सर्च अपरेशनको क्रममा सुरक्षाकर्मीहरूले घरभित्र शंकास्पद सामान देखेपछि तुरुन्तै पछि हटेका थिए, जसपछि ठूलो विष्फोट भएको हो ।
काे हुन् आदिल गुरी ?
आदिल थोकर, जसलाई ‘आदिल गुरी’ को नामले पनि चिनिन्छ । उनी लश्कर-ए-तैयबा आतंकी समूहमा आवद्ध छ। उनी अनन्तनाग जिल्लाको बिजबेहरा क्षेत्रको निवासी हुन् । २०१८ मा उसले वैधानिक रूपमा पाकिस्तानको यात्रा गरेको र त्यहाँ आतंकवादी प्रशिक्षण लिएको खुलेको छ । उनी हालै मात्र जम्मू–कश्मीर फर्किएको थिए । पहलगाम आक्रमणमा उनको संलग्नता पुष्टि भएपछि सुरक्षाकर्मीहरूले उसमाथि कडा कारबाही थालेका छन् ।
सीमामा पाकिस्तानद्वारा गोलीबारी
आक्रमणपछि पाकिस्तानले एलओसी (नियन्त्रण रेखा) नजिकका केही भागहरूमा गोलीबारी गरेको छ । भारतीय सेनाले जवाफी कारबाही गर्दै पाकिस्तानलाई कडा सन्देश दिएको छ । यद्यपि, यस घटनामा कुनै मानवीय वा भौतिक क्षतिको खबर आएको छैन ।
बढ्दो तनावका बीच भारतीय सेनाका प्रमुख उपेन्द्र द्विवेदीले श्रीनगर र उधमपुरको भ्रमण गर्ने भएका छन्। उनले सुरक्षा स्थिति अवलोकन गर्ने र सुरक्षासम्बन्धी उच्चस्तरीय बैठकहरूमा सहभागी हुने कार्यक्रम रहेको छ ।
पहलगाम आक्रमणपछि देशको गृहमन्त्री अमित शाहले पनि प्रभावित क्षेत्रको भ्रमण गरेका थिए भने प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सीसीएस (क्याबिनेट कमिटी अन सेक्युरिटी) को बैठक बसेर महत्त्वपूर्ण निर्णयहरू गरिएको थियो । —एबीपी न्यूज

