

शिक्षकका मागमा मन्त्रिपरिषदबाट हुनेजति निर्णय गर्नुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकारले मन्त्रिपरिषद्बाट गर्न सकिने सबै निर्णय तुरुन्त गर्नुपर्ने बताएका छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र: अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै थापाले शिक्षकहरूको आवाजप्रति कांग्रेसको धारणा स्पष्ट रहेको बताए। साथै, संसद्बाट हुनुपर्ने निर्णय ढिलो भएको स्वीकार्दै शिक्षकहरूसँग माफी मागे।
‘शिक्षकका विषयमा कांग्रेस क्लियर छ,’ उनले भने, ‘तर माफी चाहन्छौँ– संसद्बाट हुनुपर्ने कुरा ढिलो भयो। दोषको हिस्सेदार हामी पनि हौँ।’
महामन्त्री थापाले पार्टीभित्र समयभन्दा अगाडि महाधिवेशनको चर्चा चलिरहेकोप्रति पनि आपत्ति जनाउँदै लोकतन्त्र जोगाउने विश्वास जनतामा दिलाउने कांग्रेस बनाउनुपर्नेमा जोड दिए।

