कश्मीरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूकाे तस्विर सार्वजनिक


काठमाडौं — भारतकाे जम्मु कश्मीरस्थित पहलगाममा मंगलबार भएको भीषण आतंकवादी हमलामा संलग्न रहेका आतङ्ककारीहरूको तस्बिर तथा स्केच भारतीय सुरक्षा एजेन्सीहरूले सार्वजनिक गरेका छन् । घटनामा एक नेपालीसहित २७ पर्यटकको ज्यान गएको थियो भने २० भन्दा बढी घाइते भएका छन् ।

आक्रमणकारीहरू प्रतिबन्धित आतङ्कवादी संगठन लश्कर-ए-तैयबाको शाखा द रेजिस्टेन्स फ्रन्ट का सदस्य भएको पुष्टि गरिएको छ । भारतीय गुप्तचर स्रोतहरूका अनुसार तीन मुख्य आतङ्ककारीको पहिचान आसिफ फुजी, सुलेमान शाह र अबु तल्हा भएको छ ।

यी आतङ्ककारीहरूले पर्यटकीय क्षेत्र बैसरन घाँसे मैदानमा पर्यटकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । छद्मवेशमा रहेका करिब ५–६ जनाको समूहले AK-47 जस्ता सैन्य-ग्रेड हतियार प्रयोग गरेर आक्रमण गरेको बताइएको छ ।

यस हमलामा नेपालका रुपन्देही, बुटवल–११ निवासी सुदीप न्यौपानेको ज्यान गएको छ। उनी आमा र बहिनीका साथमा कश्मीर घुम्न गएका थिए।

सुरक्षा अधिकारीहरूले आक्रमणकारीहरू विशेष तालिम प्राप्त र पूर्ण तयारीका साथ आएका थिए भन्ने निष्कर्ष निकालेका छन् । उनीहरू सुक्खा खाद्य, औषधि, बडी क्याम र हेलमेटमा जडान गरिएको क्यामेरा लिएर आएका थिए । घटनास्थलको रेकी उनीहरूले स्थानीय सहयोगमा गरेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीमध्ये दुईले पश्तो भाषामा बोलेका थिए, जसले उनीहरू पाकिस्तानी मूलका भएको संकेत गर्छ । अन्य दुई स्थानीय आतङ्ककारीहरूका नाम आदिल र आसिफ रहेको जानकारी दिइएको छ ।

यस घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी भ्रमण छोट्याएर भारत फर्केका छन् र भारतीय गृहमन्त्री अमित शाहले घटनास्थलको निरीक्षण गरेका छन् । नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई फोनमार्फत समवेदना प्रकट गर्दै आतंकवादविरुद्ध एकजुट रहने प्रतिबद्धता जनाएका छन् ।

सुरक्षा बलहरूले व्यापक आतंकविरोधी अभियान सुरु गरेका छन् । हेलिकप्टरको सहयोगमा आतंककारीको खोजी तीव्र पारिएको छ । गुप्तचर निकायहरूले आक्रमणको मास्टरमाइन्डको रूपमा सैफुल्लाह कसुरी उर्फ खालिद नाम गरेका शीर्ष लश्कर कमाण्डरलाई चिनिएका छन् ।

 

प्रतिक्रिया