

हुम्लामा अविरल वर्षा र बाढीपहिरो, भेडीगोठमै पुरिए २६ बाख्रा

हुम्ला- हुम्लामा बिहीबार बिहान अत्यधिक वर्षापछिको पहिरोमा पुरिएर अदानचुली गाउँपालिका- ३ स्थित गोठमा रहेका २६ बाख्रा मरेका छन् ।
अदानचुली-३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा पहिरोमा पुरिएका हुन् । भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेको पीडित किसान बुढाले बताए ।
गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले बताए । उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ ।
एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पहिरो खसेको उल्लेख गरे ।
आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । बिहानको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

