काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान


काठमाडौं- सरकारले आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरुलाई आह्वान गरेको छ ।

सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरुका सम्बन्धमा सरकार संवेदनशील रहेको र यथोचित सम्बोधन हुने भन्दै आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरुलाई आह्वान गरिएको जानकारी दिए ।

संसद्‌मा विचाराधीन रहेको विधालय शिक्षा विधेयक छिटो पारित गर्न सरकारका तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको उनले बताए । प्रवक्ता गुरुङले शिक्षकहरुको मागप्रति सरकार गम्भीर रहेकाले शिक्षकहरुले पनि अब आफ्ना अडान छाड्नुपर्ने जिकिर गरे ।

उनले अहिलेको आर्थिक अवस्थालाई हेरेर शिक्षक लगाएतका निजामतीको सेवा सुविधा वृद्धि गर्नेबारे पनि अध्ययन भइरहेको बताए । शिक्षकको माग अनुसार विधालय शिक्षा ऐनलाई सदनबाट फाष्ट ट्रयाकबाट पारित गर्नका लागि अन्य राजनीतिक दलहरुसँग छलफल गरेर अघि बढ्ने गुरुङको भनाइ छ ।

त्यस्तै, मन्त्रिपरिषद्ले साना सिँचाइ कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८ दशमलव ८ लाख स्वीस फ्रयाङ्क प्राप्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए । त्यस्तै, बैठकले आयोडिनयुक्त नुन (बिक्रि वितरण ) ऐन, २०५५ आगामी साउन १ गतेदेखि नेपालभर प्रारम्भ गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ भने सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी (पहिलो संशोधन) कार्यनीति २०८१ स्वीकृत गर्ने निर्णय भएको छ ।

बैठकले हवाई सेवा व्यवस्थापन नियमावली २०८१ स्वीकृत गर्ने, पूर्वसचिव रामेश्वर खनाल संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयनका लागि ७ दिनभित्र कार्यान्वयन कार्ययोजना बनाइ पेस गर्न समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया