
‘हार्वर्डमा पढ्छु’ भन्दै रास्वपाका केन्द्रीय सदस्यले चन्दा माग्न थालेपछि…
काठमाडौं- रास्वपाका केन्द्रीय सदस्य पुकार बमले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने भन्दै सामाजिक सञ्जालमार्फत चन्दा संकलन सुरु गरेपछि तीव्र आलोचनाको सामना गर्नुपरेको छ । नविल बैंक खाता, इसेवा/खल्ती नम्बर र विदेशस्थित एजेन्टहरूको विवरण सार्वजनिक गर्दै उनले सहयोगको अपिल गरेका हुन् ।
बमले आफू ‘मिड करिअर मास्टर्स इन पब्लिक एड्मिनिस्ट्रेसन’ अध्ययन गर्न अमेरिका जाँदै गरेको भन्दै जनतासँग आर्थिक सहयोग मागेका हुन् । तर, उनको अपिललाई धेरैले ‘घिनलाग्दो भिख माग्ने शैली’, ‘स्मार्ट ठग’ र ‘नयाँ नेतृत्वको धोका’ जस्ता शब्दमा आलोचना गरेका छन् ।
उनको अभियानले कानुनी र नैतिक बहस पनि निम्त्याएको छ । कानुनविद्हरूका अनुसार क्राउड फन्डिङका नाममा व्यक्तिगत खर्चका लागि पैसा उठाउनु चन्दा ऐन २०३०, भिक्षा निषेध ऐन २०१८ र राष्ट्र बैंक ऐन २०५८ विपरित हो । अधिवक्ता डा. सुवास आचार्य भन्छन्, “व्यक्तिगत छवि देखाएर स्वीकृतिविना यसरी पैसा उठाउनु गैरकानुनी हो ।”
रास्वपा अध्यक्ष रवि लामिछाने स्वयम् ठगी अभियोगमा थुनामा रहेका बेला अर्का नेता बमको यस्ता गतिविधिले पार्टीलाई थप बदनाम बनाएको छ । आलोचकहरू भन्छन्- ‘पढाइको बहानामा गरिएको यो अभियान, पारदर्शिता नभएको ‘उठाऊ धन्दा’ मात्र हो ।’




कागजपत्र |
