

२५ करोड विदेशी मुद्रा प्रकरणमा माओवादी नेतासहित दुईविरुद्ध अभियोगपत्र दायर

काठमाडौं- काठमाडौंको टोखा क्षेत्रमा विदेशी मुद्रा तस्करीमा संलग्न दुई व्यक्तिहरूविरुद्ध अभियोगपत्र दायर भएकाे छ । राजस्व अनुसन्धान विभागले सिन्धुपाल्चोकका कुसाङ लामा र माओवादी नेता नारायण पौडेललाई विदेशी विनियम ऐनअन्तर्गत मुख्य अभियुक्त बनाउँदै अदालतमा अभियोगपत्र दायर गरेको हो ।
मंगलबार काठमाडौं जिल्ला अदालतमा तस्करीसँग सम्बन्धित मुद्दा दर्ता गरिएपछि २५ करोड ३४ लाख रुपैयाँभन्दा बढीको विदेशी मुद्रा जप्त गरिएको दाबी गरिएको छ । यस घटनामा समातिएका ट्रक चालक कुसाङ लामा १३ लाख युरो र ३ लाख डलरको रकम लुकाएर रसुवागढी नाका हुँदै चीनतर्फ पठाउने प्रयासमा थिए ।
तर, माओवादी नेता नारायण पौडेल भने पक्राउ गर्न नसकेको जानकारी प्राप्त भएको छ । उनी अहिले सम्पर्कविहीन छन् र अदालतबाट उनलाई पक्राउ गर्न अनुमति दिइसकेको छ । पौडेलका परिवारका सदस्य पनि आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ । जसमा सुन तस्करी, हुन्डी, विदेशी मुद्रा र रक्तचन्दन तस्करीका काण्डमा नाम आएका छन् ।

