

फेक आइडी बनाएर पूर्वप्रेमीको चरित्र हत्या गर्ने गोरखाकी विन्दु पक्राउ

काठमाडौं- गोरखा नगरपालिका–६, सातधुरे दरबारमार्गकी ३० वर्षीया विन्दु परियारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेकी परियार नेपाल फर्कने क्रममा इन्टरपोल शाखा, प्रहरी प्रधान कार्यालयको समन्वय र विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा पक्राउ परेकी हुन् ।
परियारले सामाजिक सञ्जालमार्फत एक पुरुषसँग प्रेम सम्बन्ध स्थापना गरेकी थिइन्। दुवैबीच विवाहको योजना समेत बनेको थियो । तर सम्बन्धमा दरार आएपछि उनले उक्त पुरुषको फेसबुक नाम र फोटो प्रयोग गरेर फेक आइडी बनाई प्रेमी, उनका पत्नी र नजिकका आफन्तहरूलाई निरन्तर चरित्र हत्या गर्ने किसिमका सामग्री सार्वजनिक गरेकी थिइन् ।
यस घटनासम्बन्धी उजुरी प्राप्त भएपछि प्रहरीको साइबर ब्यूरोमा अनुसन्धान अगाडि बढाइएको थियो। उनीविरुद्ध २०८० साल पुस ३ गते विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
पक्राउ परेकी परियारलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि आजै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

