

वडाध्यक्षलाई पोलमा बाँधियो, भिडिओ भाइरल

दैलेख – दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कुलबहादुर कार्कीलाई परस्त्रीसँग भेटिएपछि स्थानीय युवाहरुले रातको समयमा बिजुलीको पोलमा बाँधेर भिडियो खिचेका छन् । उक्त भिडिओमा टिकटकको अडियो राखेर भाइरल बनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्सपेक्टर लालबहादुर सुनारले पोलमा बाँधिएको देखिने व्यक्ति वडा अध्यक्ष कार्की नै भएको पुष्टि गरेका छन् । उनका अनुसार २०७९ साल चैत २६ गते राति ३–४ जनाको समूहले कार्कीलाई बाँधेर भिडिओ खिचेका थिए ।
भोलिपल्ट अर्थात चैत २७ गते वडा अध्यक्ष कार्कीले आफूलाई अपहरण गरी शरीर बन्धक बनाइएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा तीन जना पक्राउ परेका छन् भने एक जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा स्थानीय ३३ वर्षीय नगेन्द्र रावल, २४ वर्षीय टोपेन्द्र रावल र १९ वर्षीय विशाल खड्का रहेका छन् । फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले भिडिओमा कार्कीलाई परस्त्रीसँग रहेको अवस्थामा भेटिएको दाबी गरेका छन् र त्यही कारण उनलाई “सबक सिकाउन” पोलमा बाँधिएको भनिएको छ । तर, प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको बताएको छ ।

