

नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश

काठमाडौं- उच्च अदालतले नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तत्काल गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश द्वय श्यामकुमार भट्टराई र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यथाशीघ्र निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको हो ।
२०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको र निर्वाचन स्थगन गर्नुपर्ने स्पष्ट तथा वस्तुनिष्ठ कारण नखुलाईएको देखिएकोले सो निर्वाचन यथाशीघ्र सम्पन्न गराउन भनेर आदेश दिएको हो ।
यस मुद्दामा निवेदक पक्षका तर्फबाट अधिवक्ता आश्विन कुमार प्याकुरेल, विकास कुमार गुप्ता, मोहम्मद माजिद र रुपेश खनालले बहस गरेका थिए भने विपक्षी नेपाल ल क्याम्पसतर्फबाट डा. रमेश पराजुली र किशोर सापकोटा तथा त्रिभुवन विश्वविद्यालयतर्फबाट वरिष्ठ अधिवक्ता नारायण प्रसाद खनालले तर्क प्रस्तुत गरेका थिए।
अदालतले उच्च अदालत नियमावली, २०७३ को नियम ४२ अनुसार विपक्षीहरुलाई आदेशको सूचना दिनुपर्ने पनि स्पष्ट पारेको छ।
यस आदेशसँगै नेपाल ल क्याम्पसमा रोकिएको एसएफयू निर्वाचन प्रक्रिया पुनः सञ्चालनमा आउने देखिएको छ।

