अछामको जयगढमा भएको आगलागीबाट २९ घर तथा पसलहरू नष्ट


अछाम- अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २९ वटा घर जलेका छन्।

आगोबाट सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो ।

जलेका २९ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने बताए ।

आगलागीका पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश विपद् परिषदको बुधवार बिहान बसेको बैठकले ५० लाख रुपैयाँ गाउँपालिकालाई दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले बान्नीगढी–जयगढ गाउँपालिकाको बैँक खातामा रकम पठाउने छ । गाउँपालिकाले मापदण्ड बनाएर राहत वितरण गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।

सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए।

यसका साथै प्रारम्भिक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने प्रदेश सरकारले बताएको छ । आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि सङ्घीय सरकारसम्मलाई पुनर्निर्माणका सन्दर्भमा सहयोगको अपिल समेत मुख्यमन्त्री शाहले गरेका छन् ।

प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्नका लागि सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई जयगढ पठाउने निर्णय समेत गरको छ ।

प्रतिक्रिया