

बाथरुम जाने निहुँमा सूचना ‘लिक’, मन्त्रिपरिषद् बैठकमा मोबाइल निषेध

काठमाडाैं- चैत ४ र ११ गतेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू बैठक नसकिँदै अनलाइन मिडियामा सार्वजनिक भएपछि बैठकभित्रैबाट सूचना ‘लिक’ हुने क्रम तीव्र भएको देखिएको छ ।
प्रधानमन्त्रीको निर्देशनमा अबदेखि मन्त्रिपरिषद् बैठकमा मोबाइल लैजान प्रतिबन्ध लगाइएको मन्त्रीहरूले बताएका छन् । बैठक कक्षभित्र मोबाइल निषेध गरिएको भए पनि केही मन्त्रीहरूले बाथरुम जाने निहुँमा बाहिरिएर निर्णय ‘लिक’ गर्ने गरेको आशंका गरिएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी)मा दीपक थापालाई बढुवा गर्ने निर्णय र कुलमान घिसिङलाई हटाउने प्रस्ताव, त्यसमा देखिएको आन्तरिक विवाद र सञ्चारमाध्यममा सूचनाको समयअघि नै सार्वजनिकता पाएपछि मन्त्रिपरिषद्का केही सदस्यहरूले बैठकमा मोबाइल जाँचसमेत गर्नुपर्ने बताएका थिए ।
यसअघि पनि सरकारहरूमा मोबाइल निषेध गरिए पनि त्यसले दीर्घकालीन रूप लिएको थिएन । अहिलेको निर्णय कति समय टिक्छ भन्ने भने समयले देखाउनेछ ।

