राजावादीकाे प्रदर्शन: निषेधित क्षेत्र तोड्ने प्रयासपछि अश्रुग्यास र लाठीचार्ज


काठमाडौं— राजसंस्था पुनर्स्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन समितिको आह्वानमा आयोजित राजावादी प्रदर्शन तनावग्रस्त बनेको छ। तीनकुनेबाट सुरु भएको प्रदर्शनलाई नयाँ बानेश्वरतर्फ अघि बढ्न रोक्ने क्रममा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले दर्जनौं अश्रुग्यास सेल प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। तीनकुने क्षेत्रबाट अघि बढेका प्रदर्शनकारीहरूलाई रोक्न खोज्दा दुवै पक्षबीच धक्कामुक्की भएपछि स्थिति झन् जटिल बनेको थियो।

प्रहरीका अनुसार दुर्गा प्रसाईंको समर्थनमा रहेका केही प्रदर्शनकारीहरू घेरा तोडेर अघि बढेपछि थप अश्रुग्यास र बल प्रयोग गरिएको हो। तनाव पहिलो घेरामा बढेपछि दोस्रो सुरक्षा घेरा शान्तिनगर गेटमा कडा निगरानीका साथ तैनाथ गरिएको छ।

काठमाडौं उपत्यकामा निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास भएपछि प्रहरीले थप सतर्कता अपनाएको जनाएको छ। अहिले पनि तीनकुने र बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रतिक्रिया